मोरङ जिल्लामा यो वर्षको माघसम्ममा ४२ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। अन्य देशको नागरिक बनेपछि नेपालको नागरिकता त्याग्नेको संख्या यो वर्ष, गत र अघिल्लो वर्षको तुलनामा धेरै देखिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २०८० को १० महिनामा ४२ जनाले नागरिकता परित्याग गरेका छन्। २०७९ मा १९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए भने २०७८ मा ११ जनाले परित्याग गरेका थिए।

जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता फाँटका नायव सुब्बा सुमनकुमार निरौलाले २०७८, २०७९ र २०८० को माघसम्ममा ७२ जनाले नागरिकता परित्याग गरेको जानकारी दिए। अन्य देशको नागरिक बनेपछि नेपाली नागरिकको प्रमाणपत्र त्यागेर उनीहरु सम्बन्धित देशमा बसोबासका लागि जाने गर्दछन्।

निरौलाका अनुसार २०८० बैशाख १ गतेबाट यो महिनासम्म २१ हजार ३ सय नौ जनाले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका छन् । यसमध्ये ४४ वटा एन.आर.एन. नागरिकता रहेका छन्। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले अन्य देशको नागरिक भएको प्रमाण प्राप्त गरेको वा प्रक्रियामा रहेको आधारमा नेपालको नागरिकता परित्यागका लागि निवेदन दिन पाइन्छ।