समुद्री सतहबाट एक हजार सात सय ७४ मिटर उचाइमा रहेको रमणीय राइनासकोटमा लालिगुराँसले पर्यटकलाई आकर्षित गर्न थालिएको छ ।लमजुङको राइनास नगरपालिका–९ स्थित राइनासकोटमा आन्तरिक पर्यटकलाई लालिगुराँसले आकर्षित गर्न थालिएको हो ।
समयअगावै फुलेका लालिगुराँसले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर गुरुङले बताउनुभयो । माघको पहिलो सातादेखि लालिगुराँस फुल्न थालेको भन्दै अहिले यहाँ सञ्चालित घरवासका साथै घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको उहाँको भनाइ थियो ।
“यहाँ रहेका सांस्कृतिक, ऐतिहासिकस्थल, संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरेपनि यतिबेला लालिगुराँस पर्यटकका लागि थप आकर्षणको केन्द्र बनिरहेको छ”, गुरुङले भन्नुभयो । चैत–वैशाखमा फुल्ने लालिगुराँस समय अगावै फुलेपछि हेर्नका लागि पर्यटक आउने गरेका उहाँको भनाइ थियो । उहाँका अनुसार यहाँ आइपुगेका अधिकांशले लालिगुराँससँग फोटो खिच्ने र भिडियो बनाएर रमाउने गर्दछन् ।
गत शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जनविकास कलेजबाट साथीसँग पिकनिक आएका भूमिका गुरुङले पहिलो पटक आफू यहाँ आएको भन्दै यतिधेरै लालिगुराँस फुलेको देख्दा निकै रमाइलो लागेको बताउनुभयो । कलेजबाट आफूसहित ६० जना यहाँ आएको उहाँको भनाइ थियो ।
नगरप्रमुख एवं होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले यतिबेला पर्यटक आगमन भइरहेको जनाउँदै घरवासमा बस्ने भन्दा घुम्ने, पिकनिक खाने प्रयोजनका लागि बढी आउने गरेको बताउनुभयो । उहाँका अनुसार शुक्रबार, शनिबार र बिदाका दिनमा दुई सयभन्दा बढी पर्यटक यहाँ आउने गरेका छन् ।