सधैँ खाद्यन्न अभाव झेलिरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने खाद्यान्न पर्याप्त मात्रमा रहेको छ। कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापरबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेल्दै आउनुपरेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ लागि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी भएकाले खाद्यन्नको अभाव हटेको हो। 

दैनिक फिस्टेल हेलिकोप्टरले चामल ढुवानी गरिरहेको छ। लिमिटेडको शाखा हुम्लामा रहेका दुई गोदाममध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उहाँको भनाइ थियोे। अहिले यस शाखामा छ हजार दुई सय क्विन्टल चामल रहेको र गोदाम नं दुई भरिएर झण्डै चार हजार चार सय क्विन्टल चामल रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो। खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमासमेत सहज भइरहेको छ। 

खाद्यान्न पर्याप्त मात्रमा रहेकाले यही फागुन १३ देखि सर्वसारधण, बजारवासी र कर्मचारीलाई दुई महिनाका लागि पुग्ने हिसावले दाद्यान्न बिक्री वितरण गरिने भएको छ। भैपरी आउने कार्य जन्म र मृत्युका कार्यका साथै कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार खाद्यान्न वितरण गरिरहेको उहाँले बताउनुभयो। 

गोदाममा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेडको शाखामा पुगेका जिल्लावासीलाई जिरा मसिनो चामल एक बोराको रु दुई हजार तीन सय ७५ पर्ने गरेको छ। 

जिल्लास्थित विभिन्न राजनीतिक दलका नेतालाई भन्दा शाखाको गोदाममा पुग्ने जनतालाई बिक्री वितरण गरिने उहाँको भनाइ थियो।