काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ। मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो।
खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो।
लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो। खेल मैदान बनाउन तयारी गरेर सम्याउन डोजर चलाएर सफा गरिरहेको चौरमा अभियन्ताहरू पुगेर नागरिक आवाज उठाएका हुन्।
खुलामञ्चमा काठमाडौं महानगरपालिकाले खेल मैदान बनाउने तयारी गरेपछि चर्को विरोध हुँदै आएको छ। महानगरपालिकाले खेल मैदानका लागि दुबो रोप्न अहिले दैनिक ५० सरसफाइकर्मी परिचालन गरेर चौरमा भएको ढुंगा, फोहोर हटाउने काम गरिरहेको छ।
महानगरपालिकाले कृत्रिम दुबो रोप्ने योजनाबाट पछाडि हटे पनि खेलमैदान बनाउने योजना भने यथावत नै राखेको छ। महानगरपालिकाका एक अधिकारीका अनुसार खुलामञ्चमा ४ वटा गोलपोस्ट र रेखाङ्कन गर्न बजेट समेत विनियोजन भइसकेको छ।