दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ले पहिलो वार्षिक उत्सव मनाएको छ। वार्षिक उत्सवको अवसरमा महाअभियानले आज काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गरेको छ।
सभामा सहभागीहरु र्यालीसहित भृकुटीमण्डपमा पुगेर भेला भएका थिए । उनीहरुले राष्ट्रिय झण्डा बोकेका थिए । र्यालीमा सहभागी केही महिलाहरुले ठूला झोला र बोरा बोकेका थिए।
दुर्गा प्रसाईं भने सेतो कारमा चढेर र्यालीमा सहभागीहरुलाई हात हल्लाइरहेका थिए। उनले मञ्चमा परेवा उडाएर र बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए।
यसअघि दुर्गा प्रसाईंले राजतन्त्र फर्काउने, हिन्दु राज्य पुनर्स्थापना गर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। त्यतिबेला उनले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गर्नुपर्ने मागलाई पनि प्रमुखताका साथ उठाएर मानिसहरुलाई भेला पारेका थिए।
प्रदर्शनको पहिलो दिन नै बल्खु क्षेत्रमा प्रहरीसँग झडप हुँदा स्थिति तनाबग्रस्त भएको थियो। सोही दिनदेखि उनको आन्दोलन मत्थर भएको थियो।