पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गर्नुभएको छ।
नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच सार्वजनिक गर्नुभएको हो।
सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । उहाँले पुस्तकको सफलताको शुभकामना दिनुभयो ।
पत्रकार धितालका ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ पुस्तक आज सार्वजनिक गरिएका हुन्।उहाँको यसअघि ‘गुफाप्रेसका चिठ्ठी’ पुस्तक प्रकाशित भइसकेको छ।
सो अवसरमा अर्का लेखक एवं भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभयो।
लेखक धितालले जनयुद्धकालको स्मरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो । लेखक एवं भाषा आयोगका अध्यक्ष ठाकुरले जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध उभिन खोज्नेका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताउनुभयो । पुस्तकमा १३ कथा रहेका छन्।