राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ।

गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ ।”

देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको बताउदै ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो। 

“गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,” विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल  वेदलाई मानिएको उल्लेख गर्दै नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताउनुभयो।

समारोहमा बागमती प्रदेशका पर्यटनमन्त्री पुकार महर्जनले वैदिक सनातन संस्कृतिसँग जोडिएको गार्गी गुरुकुल विद्याश्रमको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने र गार्गी गुरुकुलको विकासका लागि प्रदेश सरकारले रु.४५ लाख सहयोग गर्ने आश्वासन दिनुभयो। महायज्ञका लागि प्रदेश सरकारले रु. पाँच लाख सहयोग गर्ने बताउनुभयो। 

महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक डा. गोविन्द टण्डनले नारीलाई आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले २०७५ सालमा गार्गी कन्या गुरुकुल विद्याश्रम स्थापना गरिएको जानकारी दिनुभयो। आजदेखि सुरु भएको श्रीमद् भागवतमहायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ।