युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। 

सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो। 

आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका लागि यस वर्ष रु.एक करोड बजेट विनियोजन भएको छ।

रङ्गशाला निर्माणका लागि प्रतिष्ठानका महासचिव राईका अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरी काम भइरहेको गठित निर्माण उपभोक्ता समितिका सचिव रविन गुरुङले बताउनुभयो ।

वि.सं. २०६९ देखि निर्माण थालिएको यो रङ्गशाला नामकरणको विवादका कारण केही समय निर्माण ओझेलमा परेको थियो । सरकारबाट यो अवधिमा पटकपटक गरी रु. दुई करोड बढी बजेट बिनियोजन गरेर खेलमैदान सम्याउने, घेराबेरा लगाउने जस्ता केही प्रारिम्भक चरणका काम भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार काम हुन सकेको थिएन ।