दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँसँगै ८६ वर्षीय गङ्गाबहादुर कटुवाल, ८० वर्षीय तेजबहादुर राई लगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्ले बासीले अबिर र खादाले स्वागतसमेत थिए । 

आफ्नो घर नजिकैबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्नेगरी निर्माण गरिएको सडकमा पहिलोपटक गुडेको बस चढेर आहाले पुगेका उनीहरू सोही बसमा चढेर दिखुवाफेदीसम्म पुगेर पुनः आ–आफ्नो घर फर्किएका थिए ।

दिक्तेलबाट खाल्लेस्थित खानीडाँडा हुँदै पुरानोगाउँबाट रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्ग जोडिने सडकमा सोमबार परीक्षणका लागि खोटाङ यातायात प्रा.लि.को दुईवटा बस सञ्चालन गरेको छ।