मोरङका अलग-अलग स्थानमा आगलागी हुँदा ८१ लाखभन्दा बढीको क्षति भएको छ। सुनवर्षी र कानेपोखरीका दुईवटा घरमा सोमाबार राति आगलागी भएको हो।

सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा राति ८ः३० बजेतिर आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगोले घरसहित घरमा रहेको ३ लाख नगद, ४ तोला सुन, अन्नपात, लत्ताकपडा, फर्निचरका सामानलगायत जलेर ध्वस्त भएको छ। आगोले २ तले पक्की घर पूर्णरूपमा जलेको छ। 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

त्यस्तै,कानेपोखरी गाउँपालिका–२ बहत्तरबिघेस्थित अर्जुन विष्टको घरमा राति ११ः५५ बजेतिर आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठका अनुसार आगोले ४ कोठे पक्की घरसहित लत्ताकपडा, काठपात, ६ तोला सुन, १८ हजार नगद, ६५ मन धान, ग्वाली, एउटा खसी र ६ वटा बाख्रा जलेको छ।

आगालागीमा ३१ लाख १८ हजार बराबरको क्षति भएको जानकारी उनले दिए। श्रेष्ठका अनुसार आगलागीमा २० लाख बराबरको घर, ७ लाखको सुन, १ लाखको धान, ३ लाखको ग्वाली तथा ३० हजार बराबरको खसीबाख्रा जलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीका दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।