सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ।
नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको आज उद्घाटन गर्नुभयो।
भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ। गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो ।
सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘खाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो।
सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ।