संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको जिम्मा प्रदेशहरुलाई दिने तयारी गरेको छ।
आइतबार सिंहदरबारमा संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरुबिचको उच्चस्तरीय समन्वय बैठक राख्दै मन्त्री प्रकाश ज्वालाले लाइसेन्स वितरणको सन्दर्भमा सम्बन्धित प्रदेशहरुलाई नै सुम्पिने तयारी गरिरहेको बताउनुभयो।
सातै प्रदेशबाट लाइसेन्स छपाइको चाप केन्द्रमा पर्ने र समयमा नै स्मार्ट कार्ड र छपाई मेसिन उपलब्ध नहुँदा लाइसेन्स छपाइमा समस्या परिरहेको मन्त्री ज्वालाले स्पष्ट पार्दै सवारी तथा यातायात व्यवस्था सवारी दर्ता तथा नवीकरण, लाइसेन्स वितरण प्रक्रियासँगै लाइसेन्स छपाई तथा वितरण अधिकार समेत सम्बन्धित प्रदेशहरुलाई नै दिँदा के हुन्छ? यसै विषय छलफल गर्न सम्बन्धी प्रदेशका यातायात हेर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई छलफलमा बोलाइएको उहाँले बताउनुभयो।
आइतबारको संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रादेशिक सम्बन्धित मन्त्रालयहरुबिचको उच्चस्तरीय समन्वयात्मक छलफलमा सवारी तथा यातायात क्षेत्रको सुधारमा लाइसेन्स छपाई, इम्बोस्ट नम्बर प्लेट कार्यान्वयन, विद्युतीय सवारी दर्ता प्रणाली, विद्युतीय सवारी दर्ता, सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन र नक्कली लाइसेन्स छपाई तथा वितरणसहित सान्दर्भिक तत्काल समाधान गर्नुपर्ने मुद्दामा छलफल केन्द्रित हुने मन्त्री ज्वालाले बताउनुभयो।