चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन्। हुस्सु र शीतलहरका कारण सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएका आलु बालीमा डढुवाको सङ्क्रमण बढेपछि किसान चिन्तित भएका हुन्।

श्रम तथा मजदुरीका साथै मल खाद्यको अभावका बीचमा किसानले आलुखेती गरेकामा लगानी गरेअनुसार प्रतिफल नआउने भएपछि किसान मर्कामा परेका भोक्राहा नरसिंह–७ का मङगल महतोले बताउनुभयो। इनरुवासहित दक्षिणवर्ती क्षेत्रका सर्वसाधारण किसानले ऋण काढेर लगाएको आलुखेती पुसको अन्तिम सातादेखि सुरु भएको शीतलहरका कारण डढुवा रोगको सङ्क्रमण बढेपछि लाखौँको लगानी खेर जाने भएको छ।

जिल्लामा करिब १० देखि १५ प्रतिशतसम्म कीराले आलुखेती नष्ट गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्र इनरुवाले जनाएको छ। कृषि ज्ञान केन्द्र इनरुवाले आलुखेती गर्ने किसानका लागि प्राविधिक सहयोगका साथै कार्यालयमा आएका किसानलाई निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो।

जिल्लामा आलुखेतीमा पच्छौटे डडुवा र अगौटे डडुवा रोगको सङ्क्रमण देखिन थालेकाले आलु उत्पादनमा कमी आउने उहाँको भनाइ थियो। सुनसरीमा दुई हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको कार्यालयले जनाएको छ। 

कृषि क्षेत्रका लागि विनियोजन गरिएको बजेट मार्फत स्थानीय तहले कृषिलाई प्रवर्द्धन गर्न र आलुका साथै विभिन्न खेतीमा लाग्ने रोगको सङ्क्रमणबाट बालीलाई जोगाउन समयमै विषादीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।