प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा विकासोन्मुख देशको हितमा आवाज उठाएको बताउनुभएको छ।
युगाण्डाको कम्पालामा सम्पन्न भएको नामको १९औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वका विकासोन्मुख मुलुकले आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार रूपमा उठाएको बताउनुभयो।
सम्मानित र मर्यादित जीवनका लागि आवश्यक दिगो विकासका लक्ष्यको प्राप्ति असम्भव प्रायः देखिएको छ। नेपाल आफैँ अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहे पनि विभिन्न बहुआयामिक चुनौतीको भुमरीमा परेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
असंलग्न आन्दोलनले दिगो विकासका लक्ष्यहरू २०३० पेरिस सम्झौता र अन्य अन्तर्राष्ट्रिय रुपमा सहमति भएका विकासका लक्ष्यहरु समयमै हासिल गरी विश्वका विकासोन्मुख मुलुकको आर्थिक विकास र समृद्वि प्राप्त गर्नका लागि जोड दिनुपर्दछ भन्ने विषयलाई आफूले सम्मेलनका क्रममा जोडदार रूपमा उठाएको प्रधानमन्त्रीको भनाइ छ ।
यसै भ्रमणका अवसरमा कम्पाला पुग्दाकै दिनमा नेपाली अवैतनिक वाणिज्यदूतको आयोजनामा त्यहाँ रहेका गैरआवासीय नेपालीसँग छोटो भेटघाट तथा अन्तक्र्रियाको मौका मिल्यो। नेपालीहरूका लागि युगाण्डा तथा अफ्रिका महादेशमा विद्यमान अवसर तथा चुनौतीका बारेमा छलफल भयो। सम्बोधनका क्रममा अवसरहरुको सदुपयोग र समस्याहरूको समाधानका लागि पहल गर्ने बताएँ। श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्गेसँग द्विपक्षीय भेटवार्ता भयो।
उक्त भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसीहितका विषयमा कुराकानी भयो। पहिलो पटक काठमाडौँमा सम्पन्न भएको परराष्ट्रमन्त्री स्तरीय नेपाल श्रीलङ्का संयुक्त आयोगको बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्ने बारेमा समेत छलफल भयो। सार्कलाई गतिशील बनाउन नेपाल र श्रीलङ्काले साझा प्रयत्न गर्नेबारे कुराकानी भएको थियो।
त्यसैगरी उद्घाटन सत्रका समयमा आयोजक मुलुक युगाण्डाका राष्ट्रपति महामहिम योवरी कागुटा मुसेभेनीसँग चासोका साथ कुराकानी गर्नुभयो। मेरो तर्फबाट असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटघाट तथा कुराकानी भयो।
हालै काठमाडौँमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने लगायत नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने विषयमा कुराकानी भएको बताउनुभयो।
अन्त्यमा, संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका ‘ग्लोबल साउथ’ मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्चका रूपमा रहिआएको असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै कम्पालामा युगाण्डाका राष्ट्रपति योवरी कागुटा मुसेभेनी तथा विगत तीन वर्षदेखि अध्यक्षको हैसियमा आन्दोलनलाई नेतृत्व प्रदान गर्ने अजरबैजानलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।