तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो। तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको र चितवनले हराएको पहिचान फर्काउने भएको छ।

देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ। वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताउनुहुन्छ । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ ।

रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो। भनाइमा वि.सं.२०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो । चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मी बताउनुहुन्छ ।

विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ। उहाँको भनाइमा वि.सं. २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ । अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ । 

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए। कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो।

करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताउनुहुन्छ। बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उहाँ बताउनुहुन्छ।

पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन्। बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ