कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ। आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ ।

उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिनुभयो। उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको र माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक सङ्कटका कारण कठिनाइ व्यहोर्नु परिरहेको छ र उक्त उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

सो उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिक टन मात्रै कोइला रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल विभिन्न सहरमा बिक्री हुन नसकेकाले आर्थिक सङ्कट आइपरेको कर्णले बताउनुभयो ।