गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्ष भित्रमा उत्तीर्ण गर्नुभएको छ। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो।
कोशी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गर्नुभएको छ।
उहाँले सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ। परिश्रमका कारण आफूलाई सफलता मिलेको बताउनुभयो । एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे जानकारी दिनुभयो ।
स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ रुचि र इच्छा भयो भने नेपालमै सम्भव रहेको र विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ भन्दै उहाँले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिनुभयो ।
माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको हो भने स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट वि.सं. २०७५ मा उत्तीर्ण भएपछि उहाँले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गर्नुभयो। उहाँ हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्नुहुन्छ ।