सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ। नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गर्नुभएको हो।

नगरप्रमुख यादवले अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ भन्दैआगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने बताउनुभएको छ ।

उहाँका अनुसार बायोमेट्रिक बाहेक आवेदन लगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ। स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।

नागरिकलाई सहज होस् भनेर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सो कार्यालयबाट प्राप्त राहदानी पालिकाबाट नै वितरण सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।