त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
अर्थ मन्त्रालयको आग्रहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन्।
पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सो निर्णय गरेका थिए भने माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताउनुुुभयो।
अर्थमन्त्री प्रकाश शरण महतले पुस १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुरक्षा संवेदन शीलता र बढ्दो चुनौतीका कारण सशस्त्र प्रहरी परिचालन गरिदिन आग्रह गरेका थिए र अर्थको आग्रह अनुसार गृह मन्त्रालयले सो निर्णय गरेको हो।
भन्सार चेकजाँचमा खटिने सशस्त्रको टिम प्रमुख भन्सार प्रशासकको पूर्ण नियन्त्रण र निर्देशनमा परिचालित हुने निर्णय गरिएको छ ।