यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो।
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ।
गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए भने यस वर्षको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका र गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन्।
पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिनुभयो।
“गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष नभेटिएको र गत वर्ष सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलोपटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।