लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम,सङ्खुवासभा,ताप्लेजुङको सङ्गमस्थल तीनजुरे,मिल्के,जलजले क्षेत्रमा हिउँ परेको छ।

गुराँसको राजधानी भनेर परिचित पर्यटकीय क्षेत्रमा गत भदौ देखि वर्षा नभएको यस क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो।

तीनजुरे डाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन्। गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्।

यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल‘बुकिङ’गर्ने भएकाले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम,पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटकहरु आउने गर्छन्। गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन्। विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी बताउछन् ।

वसन्तपुरबाट छ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ। तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारे, पाँच पोखरी लगायतका पर्यटकीय क्षेत्र हुन्।