चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

‘रेफरल अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा पूर्वका धेरै स्थानबाट उपचारका लागि बिरामीहरु पुग्ने गरेका छन्।आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन्। चिकित्सक र कर्मचारीहरु काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो ।

प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन् । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच, प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

लामो समयदेखि आन्दोलन हुँदा सेवा प्रभावित भएको अवस्थामा पनि समाधान गर्न पहल नगरेको भन्दै उनले कार्यकक्षमा ताला लगाएका हुन् । प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई ‘नछाड्ने’ चेतावनी पनि उनले दिएका छन्।

प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको थियो ।