काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज शनिबार दिउँसो भएको जिप दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
काठमाडौँबाट चित्लाङतर्फ गइरहेको प्र.३०१.२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम,उनका छोरा ४ वर्षीया प्रियान्स गौतम र छ वर्षीया स्मारिका गौतमको मृत्यु भएको काठमाडौँ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
जिपमा ६ जना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको, दुईजना घाइतेमा छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको छ भने आमा डा.सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।