सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सर पीडित एक पुरुषलाई उपचारका लागि रु.दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ।

फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सर पीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो । श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिनुभयो । 

फेसुबक अभियानबाट अमेरिकामा जुटाएको रकम जनज्योति माध्यिमक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारी मार्फत क्यान्सर पीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उहाँले बताउनुभयो । दश वर्षअघि फेरिएको मिर्गौलाले काम नगर्ने भएपछि पुनःमिर्गौला फेर्नुपर्ने भएकाले आर्थिक  सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए । 

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नुभएका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको  र क्यान्सर पीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेकोउहाँले बताउनुभयो।