माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न आठवटा टिमको सहभागिता हुने निश्चित भएको छ ।
आयोजकले खेल तालिका सार्वजनिक गर्दै प्रतियोगितामा भारतको दार्जिलिङ सहित आठवटा टिमको सहभागिता हुने जनाएको हो । नेपालका ए डिभिजन क्लबहरुले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।
आयोजक रेड हर्ष फुटबल क्लबले पत्रकार भेटघाट गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरोड टिम काठमाडौँसहित बुटवल, लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा,राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्ष फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।
माघ १३ गते फाइनल खेल हुने प्रतियोगितामा उपाधि विजेता टिमले ५ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले ३ लाख रुपैयाँ पाउने बताइएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने समेत जानकारी गरिएको छ ।