कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका तीन पालिकाका बासिन्दा आकर्षित भएका छन् । पछिल्लो समय यहाँका तीन पालिकामा एकसय ५० हेक्टर जमिनमा कफी लगाइएको छ।

उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती सुरु गरिएको थियो । मिक्लाजुङमा एक सय दश हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा पाँच हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

किसानलाई  कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ।

लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले पाँच वर्षअघि नजिकै रहेको साग्मा मा.वि.को जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गर्नुभएको थियो ।

हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पुयाउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।

“पाँच वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु”, कृषक राईले बताउनुभयो, ठूला सहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुयाउन सकिएको छैन ।”

नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना किसानबाट रु.९० प्रतिकिलो र प्रशोधन गरिएको प्रतिकिलो रु.पाँच सयदेखि रु.पाँच सय ५० सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु.एक हजार आठ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु.दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।