नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ। उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ,जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।
अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौँ उपत्यकामा भित्रिएको छ। काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ। जसलाई‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर)भनिन्छ।
मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। सिटबेल्ट लगाएको छ कि छैन,चालकले धूमपान गरेर गाडी चलाएको छ कि? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि रु भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ। अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ।
केही दिनअघि जडान गरिएको उक्त क्यामेराका लागि काठमाडौँ महानगरपालिकाको सहयोग रहेको छ। यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ।अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ,अब यो आर्थिक वर्षभरिमा काठमाडौँका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिनुभयो। रातिको समयका लागि गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ।
उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ। फेसरिड क्यामेरा १० ठाउँमा,अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा एक सय ५० स्थानमा जडान गर्न लागिएको छ। उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौँको प्राविधिक सहयोग रहेको छ। सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक–फरक रूपमा काम गर्ने बताउनुभयो।
उहाँले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताउनुभयो। हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ। भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उहाँले बताउनुभयो।