नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्व कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।
काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताउनुभएको छ।
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।
अदालतले लामिछानेलाई आठ वर्ष कैद रु.तीन लाख जरिवाना र रु.दुई लाख क्षतिपूर्ति निर्धारण गरेको छ ।