भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ।

स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत सङ्कलन गरेर सुन बालुवा–घोडेटार सडक निर्माण गरिएको हो । 

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८  स्थानीयलाई सम्मान गरिएको हो । जनस्तरमा जागरण जुटाएर रु.आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा रु.२८ लाख ६४ हजार नौ सय ९३ र  विभिन्न सङ्घ संस्थाबाट रु.३३ लाख ११ हजार छ सय  लगानी भएको बताइएको छ ।  

सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ । सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उहाँको भनाइ छ ।