कोशीका पहाडी जिल्लाको मुख्य नगदे बालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ । अलैँची प्रतिमन यतिबेला ८० हजार रुपैयाँ सम्ममा किनबेच भइरहेको छ।
झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो । यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरू उत्साहित बनेका छन्।
अलैँची व्यवसायी महासङ्घ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । ताप्लेजुङ, इलाम, पाँचथरलगायत पहाडी क्षेत्रमा उत्पादित अलैँचीलाई ग्रेडिङ गरेर मूल्य कायम गरिन्छ । ग्रेडिङपछि गुणस्तरका आधारमा त्यसको मूल्य केही कम बेसी हुने गरेको व्यवसायी बताउँछन्।
पूर्वी पहाडी जिल्ला र अरू जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ । उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ।