धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आउनुभएको छ भने अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ।
नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी घिमिरेअन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो। केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ र ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिए । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले उहाँको भनाई छ ।
विगत छ वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहनुभएकी उहाँ रु.५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउनुहुन्छ। थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ । उहाँले छ वर्षअघि रु.२५/३० हजार लगानीबाट सुरु गरेर सोचेभन्दा राम्रै फाइदा भयको रअहिले सामाजिक सञ्जाल,पसलबाट पनि धेरै माग आउने बाउनुभएको छ ।
उहाँले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आउनुभएको छ । उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिका लगायत स्थानमा तालिम सञ्चालन गरिसक्नुभएको छ।फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने र यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उहाँको धारणा छ ।
थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन् । हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन भने स्वास्थ्यका लागि पनि फाइदाजनक छ। साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ।