राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई सहभागी गराउने विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक देखिएका छन् ।
बिहीबार बालुवाटरमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रिया टुंग्याउनका लागि बनेको टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सकिने अध्यक्ष प्रचण्डको धारणा थियो ।
तर एमालेलाई राष्ट्रिय सभामा सहभागी गराउन नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनिच्छुक देखिएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केही लचक भएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट मागेको ब्रिफिङ गरेका थिए । तर त्यसमा नेपाल सकारात्मक नरहेको नेताहरुको भनाइ छ ।