झापा, १८ पुस 
झापा मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला र मेघनाथ निरौला हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उहाँहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आउनुभएको छ । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून द्दष्टिका कारण दुवै आँखा देख्न सक्नुहुन्न । सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहनु भएको छ ।

“आँखा नदेख्ने भएकाले मैले उहाँ (मेघनाथ)लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,” सङ्गीताले भन्नुभयो, “हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।”

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन् । सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ ।

अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको रु.पाँच सय मात्र थियो। गाउँलेसँग रु.२६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उहाँले बताउनुभयो । अस्पतालमा लामो समय बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उहाँहरु घरमै आएर ओछ्यान पर्नुभएको छ । हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक छाक टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ ।

निरौला दम्पती जस्तै हात्ती पीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन् ।