काठमाडौँ, १८ पुस 

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ११ बजे प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टिम जारी प्रतियोगितामा तेस्रो पटक आमने-सामने हुन लागेका हुन् । जारी प्रतियोगितामा एपीएफ अपराजित छ। सीता राना मगरको कप्तानीमा रहेको एपीएफ लगातार तेस्रो पटक कोशीलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ।

पहिलो क्वालिफायरमा कोशीमाथि ५२ रनको जित हात पार्दै एपीएफ फाइनल पुगेको थियो भने लिग चरणमा पनि कोशी ८ विकेटले पराजित भएको थियो । यस अघिका दुवै भेटमा कोशीले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । क्वालिफायरमा एपीएफले सुरुवाती ब्याटिङ गर्दै १ सय ३९ रन बनाउँदा इन्दु बर्माले अविजित ५६ रनको इनिङस खेलेकी थिइन्।

जवाफमा कोशीले ८७ रन मात्र बनाउन सक्यो । राष्ट्रिय क्रिकेट टिमकी पूर्वकप्तान रुविनाको नेतृत्वमा रहेको कोशी,एपीएफसँग निरन्तरको हारमा पूर्णविराम लगाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

दुवै टिममा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीको बाहुल्य रहेको हुँदा फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । एपीएफ सर्वाधिक सफल ५ पटकको विजेता हो । कोशी एक पटक सन् २०१९ मा च्याम्पियन बनेको थियो।