मोरङको बुढीगंगा गाँउपालिकाले बालविकास केन्द्रमा आउने गरेका बालबालिकाहरुलाई खेलकुद, गीत, खेलौना र बोली व्यवहारबाट शिक्षा प्रदान गर्दै आएका सहजकर्ताहरुलाई क्षमता विकास तालिम प्रदान गरेको छ ।
सहजकर्ताहरु सक्षम भए मात्र बालबालिकाहरुले उचित स्याहार सुसार र शिक्षा पाउने भएकाले एक साता लामो क्षमता अभिवृद्धि तालिम दिएको हो । सो तालिममा १९ वटा सामुदायिक विद्यालय र ४ वटा बालविकास केन्द्रका ४२ जना सहजकर्ताहरु सहभागि भएका थिए । सात दिने तालिम समापन कार्यक्रममा बोल्दै बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगरले शिक्षा, स्वास्थ्य र कृषि बुढीगंगा गाँउपालिकाको प्राथमिकताको क्षेत्र रहेको र यी क्षेत्रको विकासका लागि सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनु भयो ।
४८ महिना पुगेका बालबालिकाहरुलाई विद्यालय जानु अघि पूर्व तयारीका लागि बालविकास केन्द्रमा शिक्षण सिकाई दिने गरिन्छ । यसका लागि बालविकास केन्द्रका सहजकर्ताहरुलाई संघिय सरकारले मासिक १० हजार र गाँउपालिकाले ६ हजार गरी मासिक १६ हजार रुपैया पारितोषिक दिने गरेको छ ।
सो तालिममा सहजकर्ताहरुलाई बालबालिकाको मानसिक, शारीरिक, संवेगात्मक विकासका लागि गर्नुपर्ने कार्यहरु बारे जानकारी गराइएको थियो ।