नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

मतदानस्थलमा भएको विवाद र अराजक गतिविधिका कारण स्थिति तनावग्रस्त बनेपछि नेता तथा कार्यकर्ताहरूले घटनामा संलग्न गैरजिम्मेवार व्यक्तिहरूमाथि कडा छानबिन गरी कारबाहीको माग गरेका छन्। 

सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सिटी हलमा भइरहेको क्षेत्रीय अधिवेशनको मतदानका क्रममा मतपत्र र मतपेटिकालाई लिएर दुई पक्षबीच विवाद चर्किएको थियो। क्षेत्रीय सभापति पदका उम्मेदवारहरूबीचको प्रतिस्पर्धाका दौरान देखिएको विवादले उग्र रूप दिदैँ मतदानस्थलमा धकेलाधकेल तथा हात हालाहालको स्थिति सिर्जना भएको थियो। विवादका क्रममा मतपेटिकामाथि तोडफोडको प्रयास हुँदा मतपेटिका लडेको र मतपत्रहरू छरपस्ट भएको बताइएको छ। उक्त झडपका कारण केही मतदाता तथा उम्मेदवारहरू सामान्य घाइतेसमेत भएका छन्। 

पार्टीको आन्तरिक लोकतन्त्रलाई उपहास गर्ने गरी मतदानस्थलमा केही व्यक्तिहरूबाट प्रस्तुत भएको अराजक, अनुशासनहीन र गैरजिम्मेवारपूर्ण हर्कतप्रति आम नेता तथा कार्यकर्ताले तीव्र रोष प्रकट गरेका छन्। उनीहरूले पार्टीको आन्तरिक निर्वाचन जस्तो पवित्र अभ्यासलाई दूषित पार्ने र हुलदंगा मचाउने दोषीहरूलाई निष्पक्ष छानबिनको दायरामा ल्याई कडा कारबाही नगरिए पार्टीको साख कमजोर हुने चेतावनी दिएका छन्।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गतका आगामी सम्पूर्ण निर्वाचन कार्यक्रमहरू तत्कालका लागि रोक लगाउन निर्देशन दिएको छ। समितिले शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरण सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रिया अघि नबढाउने स्पष्ट पारेको छ।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म खसेका मतपत्रसहितका मतपेटिकालाई सुरक्षा निकायको कडा निगरानीमा सुरक्षित सिलबन्दी गरी राखिएको छ। यस विषयमा थप छानबिन गरी आगामी निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने बारेमा केन्द्रीय निर्वाचन समितिले आवश्यक निर्णय लिने बताइएको छ।