सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोसी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै सभामुख अर्यालले त्यस्तो बताएका हुन्। 

सीप आजको समयमा अतिरिक्त योग्यता नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको उनको भनाइ छ। संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमा अनुभूति हुने गरी अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। 

सभामुख अर्यालले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोसी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे। सभामुख अर्यालले स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीचको तालमेल आवश्यक रहेको बताए। 

साथै, ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा जोड दिए।