नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा उम्मेदवारी मनोनयन प्रक्रिया सुरू गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।

सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा बुधबार भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएको कांग्रेस नेताहरूले बताएका छन्। घाइतेको उपचार नोबेल मेडिकल हस्पिटलमा भइरहेको छ।

मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ता भेला भएका बेला दुई पक्षबीच विवाद बढेपछि झडप भएको हो।

प्रारम्भिक जानकारीअनुसार पार्टीभित्रको व्यक्तिगत रिसिइबी तथा विवादका कारण भनाभन सुरु भएको र त्यसपछि हात हालाहालको अवस्था सिर्जना भएको बताइएको छ।

घटनापछि प्रतिष्ठान परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। झडपका कारण बुधबार हुने भनिएको मोरङ क्षेत्र नं. ६ को मनोनयन दर्ता प्रक्रिया रोकिएको बताइएको छ।

मनोनयन दर्ता सुरु हुनुअघि नै झडप भएपछि मोरङ–६ को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।