कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ।
विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो। देशभरका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लिग चरणका खेल ‘सुपर ६’ ढाँचामा हुनेछन्। प्रत्येक खेल ६ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल खेल १० ओभरका हुने आयोजकले जनाएको छ।
आयोजक संस्थाका विवेक दाहालले प्रतियोगिता क्रिकेटमा मात्र सीमित नरही कर्पोरेट क्षेत्रका नेतृत्व, उद्यमी तथा व्यावसायिक व्यक्तित्वबीच सम्बन्ध विस्तार गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उनले भने, ‘यो प्रतियोगिता केवल क्रिकेट खेलका लागि मात्र नभई देशभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।’
प्रतियोगितालाई खेलसँगै मनोरञ्जन र पर्यटनसँग जोड्ने तयारीसमेत गरिएको छ। प्रतियोगिता अवधिभर मैदान परिसरमा विभिन्न कार्यक्रम, सांगीतिक प्रस्तुति तथा स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
देशभरका कर्पोरेट क्षेत्रलाई खेलकुदमार्फत एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जानकारी दिएको छ।









