संसद्मा एक हजार र पाँच सयको नोट नोटबन्दी गर्नुपर्ने आवाज उठेको छ।
रास्वपाका सांसद यज्ञमणि न्यौपाने र नेकपाका प्रमुख सचेतक युवराज दुलालले तुरुन्त नोटबन्दी गर्न माग गरे।
रास्वपाका सांसद न्यौपानेले ३५ वर्षदेखि लुटेर कालो धन थुपारिएको आरोप लगाए।
“३५ वर्षदेखि यो देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा सङ्घर्ष गर्ने भनेर यदाकदा सुनिँदै छ,” न्यौपानेले भने।
उनले त्यो कालो धन र देश लुटेको धन भएको दाबी गरे।
“यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले सरकारले नोटबन्दी गर्नुपर्यो। यी नोटलाई लिएर सरकारले बैंकिङ प्रणालीमा ल्याउनुपर्यो,” उनले भने, “र, नयाँ नोट जारी गर्नुपर्यो रूप परिवर्तन गरेर।”
उनले आवश्यकता पर्दा मात्रै नयाँ नोट जारी गर्नुपर्ने बताए।
“यी भ्रष्टाचारीले लुकाएको पैसा खरानीमा प्ररिणत गरौँ। सुशासन रोक्नका लागि यिनीहरूले गरेको षड्यन्त्र हामीले यही तुहाऊँ । भारतबाट हामीले सिकौँ,” न्यौपानेले भने।
न्यौपानेपछि बोलेका नेकपाका प्रमुख सचेतक दुलालले नोटबन्दीबारेको न्यौपानेको प्रस्तावमा सहमति जनाए।
“रास्वपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई, हजार र पाँच सयका नोटलाई नोटबन्दी गर्नको लागि जोडदार माग गर्दछु”, उनले भने।
उनले त्यो विषयमा पार्टीले सहयोग गर्ने बताए । “सङ्घीय संसद्का सदस्यले हस्ताक्षर गरेर दिनुपरे पनि आजै दिने घोषणा गर्न चाहन्छु”, दुलालले भने।
उनले रास्वपालाई प्रश्न गरे, “यो हजार र पाँच सयको भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न केले छेक्यो रु तुरुन्त गर्नका लागि माग गर्दछु। यसको लागि रुलिङ गर्न सम्माननीय सभामुखलाई माग गर्दछु।”









