इजरायलको तेल अभिभका लागि दुबईबाट उडान भरेको फ्लाई दुबईको एउटा विमान ‘हाइज्याक’ (अपहरण)को आशंकाबीच साउदी अरेबियामा अवतरण गरेको छ।
विमानका दुई पाइलटबीच हात हालाहाल तथा झगडा भएपछि उडान मार्ग परिवर्तन गरिएको हो। उक्त विमानमा करिब १८० जना इजरायली यात्रु सवार रहेको जनाइएको छ।
यसअघि विमानले अपहरण भएको संकेत दिने आकस्मिक कोड प्रसारण गरेको थियो। त्यसपछि साउदी अरेबियातर्फ उडान मोडेको बताइएको थियो। सो क्रममा विमान असामान्य रूपमा कम उचाइमा झरेको समेत पाइएको छ।
सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले उच्च सतर्कता अपनाएको छ। सुरक्षा संवेदनशीलताका कारण दुईवटा लडाकु विमान तत्काल परिचालन गरिएको इजरायली सञ्चारमाध्यमले जनाएको छ।
घटनालगत्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले रक्षा अधिकारीहरूसँग आकस्मिक सुरक्षा बैठक बोलाएको थियो।
यद्यपि, विमान हाइज्याक नै भएको कुरा भने पुष्टि भइसकेको छैन। सुरक्षा स्रोतका अनुसार, पाइलटले जानाजानी हाइज्याकिङको संकेत नभई, असमझदारी वा प्राविधिक कारणले संकटकालीन संकेत सक्रिय गरेको हुन सक्ने अनुमान गरिएको छ।









