कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुडिँएको छ। बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पुलको करिब ५–६ मिटर भागमाथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो। पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्णरूपमा प्रभावित भएको छ।
क्षतिग्रस्त पुलको मर्मतका लागि सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ। उक्त झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो। यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ।









