नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटै निर्वाचनको परिणामबाट शिथिल नहुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेकी छिन्। राजनीतिक आन्दोलनमा अनेक उतार चढाव आइरहने बताउँदै भण्डारीले गत निर्वाचनको परिणामले पार्टीको आन्तरिक जीवनमा असर गरे पनि कमजोर मनस्थिति बनाउन आवश्यक नभएको बताइन्।

पार्टीले वरिष्ठ नेतामा मनोनीत गरेपछि पहिलो पटक राजनीतिक कार्यक्रममा सहभागी हुँदै मंगलबार पार्टीभित्र भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताएकी हुन्। एमाले रूपन्देहीले बुटवलमा आयोजना गरेका कार्यक्रममा भण्डारीले भनिन्, ‘पार्टीभित्र भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ, पार्टी सदस्यलाई कुनै दोष दिन आवश्यक छैन,’ भण्डारीले भनिन्, ‘अब अरुलाई दोष लगाउने भन्दा पनि आफ्नो आन्तरिक कार्यशैली सुधार गर्नुपर्छ। विगतमा पार्टी कस्तो थियो फर्केर हेर्नुपर्छ।’

राष्ट्रिय राजनीतिमा एमालेले निभाउँदै आएको भूमिकाप्रति ठेस लागेको बताउँदै उनले अब पार्टीको आन्तरिक राजनीतिक जीवनमा सुधार आवश्यक रहेको बताइन्। 

भण्डारीले पार्टीमा युवा पुस्ताको उपस्थितिमा कमी देखिएकाले अब त्यसको परिपूर्ति गरिनुपर्ने बताइन्। नेपालको वामपन्थी आन्दोलन र पार्टी राजनीतिलाई बलियो बनाउन फेरि राजनीतिमा फर्किएको उनको भनाइ थियो।

नेपालमा कम्युनिस्ट आन्दोलन सक्न विभिन्न शक्ति केन्द्रहरू लागेको बताउँदै भण्डारीले कम्युनिस्ट पार्टीमा भइरहेको चौतर्फी हमला रोक्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताइन्।

कार्यक्रममा एमाले सचिव छविलाल विश्वकर्माले विद्या भण्डारी पार्टी राजनीतिमा फर्किनु पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। पार्टीमा आन्तरिक रुपान्तरण आवश्यक रहेको उनको भनाइ थियो।​

कार्यक्रममा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले केन्द्रीय तहबाट पार्टीमा सुदृढीकरण नभएसम्म पार्टी फेरि पुरानै शक्तिमा फर्किन नसक्ने दाबी गरे। अब विद्या भण्डारीको जगमा टेकेर पार्टीमा परिवर्तनको अनुभूति दिलाउन सक्ने आशा व्यक्त गरे।