बिर्तामोड नगरपालिका-५ स्थित डेरा गरी बस्ने एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
इलामको रोङ गाउँपालिका-३ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २२ वर्षीया रविना मगरको कोठामा असोज १२ गते राति मादक पदार्थ सेवन गरी प्रवेश गरेका ४२ वर्षीय दिलिप चन्द्र रायले ज्यान लिने प्रयास गरेका हुन्।
भारतको किशनगञ्ज जिल्ला घर भई बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका रायले तन्ना च्यातेर युवतीको हातखुट्टा एवं घाँटी बाँधेका थिए। त्यसपछि शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए।
घटनाबारे जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको छ। घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड लगिएको छ।
पक्राउ परेका रायमाथि घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।









