सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा हरेक महिनाको १५ गते सञ्चालन गरिने भनिएको ‘रन सुन्दरहरैँचा’ कार्यक्रम असोज १५ गते बिहीबार पुनः आयोजना हुने भएको छ। यसपटक रनसँगै बृहत् सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिने संघले जनाएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघले गत असार १५ गते ‘अब सुतेर होइन, उठेर अघि बढौँ’ भन्ने मूल नाराका साथ पहिलोपटक ‘रन सुन्दरहरैँचा’ आयोजना गरेको थियो। त्यसपछि हरेक महिनाको १५ गते कार्यक्रमलाई निरन्तरता दिने योजना रहे पनि साउन १५ र भदौ १५ गते देशका विभिन्न कारणले कार्यक्रम स्थगित गर्नुपरेको संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए।
असोज १५ गते भने ‘स्वच्छ वातावरण, स्वस्थ समाज, समृद्ध सुन्दरहरैँचा’ भन्ने मूल नाराका साथ सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३ को पूर्वसन्ध्यामा ‘रन सुन्दरहरैँचा’सँगै बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमका लागि बिहान ६ः३० बजे विराटचोक दक्षिण लाइनस्थित लायन्स स्तम्भमा भेला भई रन सुरु हुनेछ। रन विराटचोकबाट खोर्साने चोक, बाघझोडा, त्रिवेणीचोक हुँदै सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रसम्म पुग्नेछ।









