सरकारले अध्यादेशबाट संशोधन गरेका ८५ ऐनका विभिन्न व्यवस्था पुरानै अवस्थामा ल्याउनका लागि ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ बारे श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रश्न गरेका छन्।
सरकार विधिसंगत नचलेर आफ्ना मान्छे नियुक्त गर्नका लागि अध्यादेश ल्याएको र अहिले पुरानै कानुन जगाउने विधेयक ल्याएको भन्दै राईले प्रश्न उठाएका हुन्। 'आज हामी केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक माथि विचार गरियोस् भन्ने विधेयकमा यहाँ छलफल गर्नुपर्ने विषयवस्तु धेरै लामो छँदै छैन,' राईले भने, 'पुरानो मान्छे फाल्नुभयो, आफ्नो मान्छे हाल्नुभयो। त्यसमा पारदर्शीता कति भयो भन्ने बाहिर छर्लंगै छ, अरु कुरा के गरौं ?'
सरकारले काम गर्न नसकेको र पुरानालाई आरोप लगाउने गरेको तर कानुन भने नयाँ ल्याउन नसकेको भन्दै राईले आलोचना गरेका थिए। 'कानुन, ऐन त पुरानै काम लाग्ने रहेछ, किन अध्यादेश ल्याउनुपर्थ्यो त ? विधि संगत गए भइहाल्थ्यो,' उनले भने, 'हाम्रो समस्या के भन्दाखेरि आफू पनि गर्न नसक्ने अरुलाई दोष दिने हाम्रो परिपाटी भयो।'
अध्यादेशमार्फत वर्तमान सरकारले गरेका नियुक्त कर्मचारीले कसरी काम गर्छन् भन्ने हेर्न बाँकी रहेको पनि राईले बताए। 'अध्यादेश ल्याएर तपाईंहरूले राखेका, नियुक्ति गरेका कर्मचारीले गरेका सुधारको परिणाम आउन बाँकी नै होला। अहिले नै परिणाम खोज्ने समय त नभएको होला। तर विषयवस्तु के भयो भने त्यो पुरानो फाल्ने नयाँ ल्याउने भन्दा केही पनि देखिएन,' उनले भने।
ती ऐनका विषयवस्तुमा गएर संशोधन गरेको भए छलफलको आवश्यकता पर्ने थियो भन्ने राईको धारणा थियो। 'तपाईंहरूले नियुक्ति गरेका कर्मचारीले परिणाम कस्तो ल्याउछन् त्यो हेर्न बाँकी छ। त्यसमा कति पारदर्शिता कस्तो कस्तो मान्छे कर्मचारी नियुक्ति गर्नुभयो त्यो हेर्न बाँकी छ,' उनले भने।









