सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा सांसद निशा डाँगीले सरकारले सञ्चालनमा रहेका नीतिबारे पनि काम गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद डाँगीले सरकारले बन्द उद्योग खोल्ने नीति लिनु राम्रो भएको तर खुलिरहेका उद्योगलाई टिकाइराख्न पनि काम गर्नुपर्ने बताएकी हुन्। 'सरकारले बन्द रहेका उद्योग खोल्ने नीति मात्र होइन, खुलेका उद्योग टिकाउने नीति बारे पनि काम गरोस्,' उनले भनिन्।
सांसद डाँगीले सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्नका लागि थालेको पहलकदमी राम्रो भएको बताइन्। उनले थपिन्, 'सञ्चालनमा रहेका जुट उद्योग कसरी जोगाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान जरुरी छ। भारतले नेपाली जुटजन्य वस्तुमा लगाउँदै आएको एन्टी डम्पिङ ड्युटी वृद्धि तथा जारी काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योग प्रभावित भएका छन्।'
भारतबाट भएको यस्तो व्यवस्थाले नेपाली जुट उद्योग समस्यामा परेको सांसद डाँगीको भनाइ थियो। 'जुट उद्योग बन्द हुँदा हजारौँको रोजगारी गुम्ने मात्र होइन, किसानको जुट बाटोमै फाल्नुपर्ने अवस्था आउँछ,'उनले भनिन्, 'त्यसैले, भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नु पर्नेछ।'
औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम रुग्ण उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन पनि सांसद डाँगीले सरकारको ध्यानाकर्षण गराइन्।









