विराटनगरमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक जनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। हिरासतभित्रै बिहान ७ः३० बजेतिर अचेत अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो।
नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार करिब ११ बजेतिर चिकित्सकले कोइरालालाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। उनका अनुसार तत्काल शव नोबेल अस्पतालमै राखिएको छ।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। राति करिब ११ः३० बजे पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।
हिरासतमासँगै रहेका साथीहरुले मंगलबार बिहान करिब ७ः३० बजेतिर चिया खान उठाउँदा कोइराला नबोलेपछि तत्काल अस्पताल लगिएको थियो। डीएसपी मिश्रले कोइराला हिरासतभित्रै अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल पुर्याइएको बताए।
प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको पाइएको थियो। उनी यसअघि पनि तास खेल्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ। उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन।
प्रहरीको गस्ती टोलीलाई देखेपछि लालु पासवानको घरमा तास खेलिरहेका व्यक्तिहरु भागेका थिए। रातको समयमा होहल्ला गर्दै मानिसहरु भागिरहेको देखेपछि घटनास्थल पुगेको प्रहरीले तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको थियो।
प्रहरीबाट उम्किने क्रममा घरको दुई तला माथिबाट हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । घरबाट जमिनमा खसेर घाइते भएका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालकसमेत रहेका मुखियाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।
कोइराला र मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए। पक्राउ परेका अन्यमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले पक्राउ परेकाहरुको साथबाट तासका साथै ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरिएको जनाएको छ।









