नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन २ दिनका लागि सारिएको छ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय अधिवेशन असोज १६ मा उद्घाटन गर्ने तयारी थियो। तर‚ अन्तिममा समय सार्दै १८ असोजमा अधिवेशन उद्घाटन गर्ने तयारी भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत महाधिवेशन २ दिन सारिएको जानकारी दिएका हुन्।
‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन्। यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ। यस परिस्थितिलाई मध्येनजर गरी १५ औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।












