सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप बुधबार बिहान करिब ८ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय प्रधान मेडिकल रातामाटा पठाएको थियो। त्यहाँ सामान्य उपचारपछि उनीहरूलाई बिहान ९ बजे थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

घाइते हुनेहरूमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन्।

जिप चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत सकुशल रहेका छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।